रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा कोइराला, कार्यसमितिमा प्यानल नै निर्वाचित


काठमाडौँ । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति प्राप्त गरेको छ ।

जेठ २६ गते शनिवार काठमाडौँमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले रमेश कोइरालालाई पुन अध्यक्ष पदमा निर्वाचित गर्दै आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

निर्वाचनमा कोइरालाको प्यानल पुरै बिजयी भएको छ भने उनको प्रतिस्पर्धामा कुमार चिमोरियाको नेतृत्वमा अर्को प्यानल निर्वाचनमा होमिएको थियो ।

घोषित परिणाम अनुसार संघको वरिष्ठ उपाध्यक्षमा राजकुमार देवकोटा, उपाध्यक्षमा प्रवीण लामिछाने, महासचिवमा कुमार बोगटी, सचिवमा डुक्पा घले र अमित अधिकारी निर्वाचित भएका छन् । त्यसैगरी पदाधिकारीहरू मध्ये कोषाध्यक्षमा प्रदीप राना मगर र सह(कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ निर्वाचित भएका हुन् ।

निर्वाचित कार्यसमिति सदस्यहरुमा मनिष राज पाण्डे, देवेन्द्र कुमार श्रेष्ठ, नेत्र तिमल्सिना, मुक्तिनाथ न्यौपाने (सन्तोष), रुद्र ढुंगाना, अशोक धिताल र टोक बहादुर पौडेल (अर्जुन) निर्वाचित भएका छन्।

देशभरका १४५ रिकन्डिसन अटो व्यवसायीहरू आबद्ध रहेको सो संस्थाको अधिवेशन उद्घाटन सत्रमा अटो व्यवसायी तथा अधिवक्ता रुद्र प्रसाद ढुङ्गेलद्वारा लिखित पुस्तक ‘सवारी तथा यातायात कानुन’ समेत लोकार्पण गरिएको थियो ।