सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो: मन्त्री शर्मा


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको स्वीकार गरेकी छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने क्षेत्र र धेरै अनियमितता हुने क्षेत्र रहेको बताएकी हुन् ।

उनले अनियमिततालाई नियन्त्रण गर्न यस क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्ने बताइन् । यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुन आवश्यक रहेको उनको भनाइ थियो ।

उनले भनिन्, “यो सूचना र प्रविधिको क्षेत्र भनेको आम जनताले नबुझ्ने क्षेत्र र असाध्यै धेरै अनियमितता हुने क्षेत्र हो । त्यो अनियमिततालाई नियन्त्रण गर्न पनि के गर्नुपर्छ भने यो क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्छ । सबैतिरबाट खबरदारी हुनुपर्छ । जसरी अन्य क्षेत्रमा हुने अनियमितताको विषयमा सबै जानकार हुन्छन् । तर यो क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा रहेछन् । त्यसकारण हाम्रा विगतका नीति, नियम, कानुन र जनतालाई सचेत गराउने कुरा मुख्य कुरा हो ।”

मन्त्री शर्माले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रूपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरूका रूपमा स्थापित गर्ने बताइन् । नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको उनको जिकिर थियो ।

मन्त्री शर्माले २०७६ सालमा सुरू भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हनु नसकेको बताइन् ।