सुनकोशी गाउँपालिका: उपाध्यक्षलाई ऐन विपरीत सहयोगी कर्मचारी


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाका उपाध्यक्षले ऐन विपरीत सहयोगी कर्मचारी राखेका छन् ।

महालेखा परीक्षकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९\८० को प्रतिवेदन अनुसार उपाध्यक्षको कार्यकक्षमा बसेर उपाध्यक्षको काम काजमा सहयोग गर्नको लागि सहयोगी कर्मचारी नियुक्त गरिएको हो । गाउँपालिकाको सभाले निर्णय गरी जगत विक्रम केसीलाई ज्यालादारीमा नियुक्त गरिएको हो ।

पालिकाले केसीलाई ज्यालादारीमा मासिक १६ हजार ५००, चाडपर्व र पोषाक खर्च वापत १० हजार रुपैयाँ गरेर २ लाख २४ हजार ५०० रुपैयाँ खर्च गरेको छ ।

मासिक १५ हजार रुपैयाँको दरले भुक्तानी दिने भनेर सभाले निर्णय गरेको भएपनि कार्यालयले मासिक १६ हजार ५०० रुपैयाँ को दरले सम्झौता गरी बढी भुक्तानी दिएको १९ हजार ५० रुपैयाँ असुल गर्नुपर्ने महालेखा परीक्षकले उल्लेख गरेको छ ।

महालेखाले कानून विपरीत सहयोगी कर्मचारी नियुक्ति गरी २ लाख २४ हजार ५०० रुपैयाँ पालिकाले गरेको खर्च नियमसम्मत नदेखिएको जनाएको छ ।

स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ (पहिलो संशोधन समेत) स्थानीय तहका प्रमुख तथा उप प्रमुखले व्यक्तिगत सहयोगी कर्मचारी राख्न पाउने व्यवस्था छैन भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ (८) मा तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपुर्ति गर्न नुहने उल्लेख छ ।