अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताएका छन्।

शनिवार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तरसंवादमा बोल्दै महासचिव चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताएका हुन्।

उनले आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आलोचना गरिहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गरे।

चन्दले १२ खर्बको राजश्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको प्रतिक्रिया दिँदै सरकारमा सहभागी मान्छेहरुको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको बताए।

उनले भने, “अर्थतन्त्रको कुरा गर्ने बित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा गर्ने बित्तिकै दुईवटा कुरा हो । एउटा, राज्यको कुरा हो । एउटा, संस्था र नागरिकको कुरा हो । राज्य अल्मल्लिएको देख्छौँ हामी अहिले ।”

चन्दले देशलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामा लानुपर्नेमा जोड दिए। उनले आफूहरु सरकारसँग मिलेर काम गर्न चाहेको भन्दै सरकारले मद्दत गरेमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने र परिणाम आउने गरी कृषि क्षेत्रबाट योगदान गर्ने बताएका छन्।

—न्युज एजेन्सी नेपाल