काठमाडाैँ । हिमनदी विज्ञ नितेश खड्काले पछिल्लो समय हिमालय क्षेत्रमा दुई गणाले तापक्रम बृद्धि भइरहेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा कार्यपत्र पस्तुत गर्दै उनले हिमालया क्षेत्रमा तापक्रम वृद्धिको दर विश्वव्यापी औसतभन्दा उच्च रहेको बताएका हुन् ।
यसको प्रत्यक्ष असर हिमनदी तथा हिमतालमा देखिन थालेको उनले बताए । उनले हिन्दुकुश–हिमालय क्षेत्र जलबायू परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गरे । नेपाल हिन्दुकुश–हिमालय क्षेत्रको महत्वपूर्ण भूभागमा पर्ने भएकाले जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा प्रभावित हुने उनको भनाइ छ ।
उनका अनुसार हिन्दुकुश–हिमालय तथा तिब्बती पठार क्षेत्रमा विश्वव्यापी तापक्रम वृद्धिको तुलनामा करिब दोब्बर दरमा तापक्रम बढिरहेको अध्ययनहरूले देखाएका छन् । यो क्षेत्रमा प्रतिवर्ष शुन्य दशमलव ४२ डिग्री सेल्सियसले तापक्रम वृद्धि भईरहेको उनको भनाइ छ । नेपालभित्र पनि औसत तापक्रम निरन्तर बढिरहेको उनले बताए ।
उनका अनुसार देशभरको औसत तापक्रम प्रतिवर्ष करिव शुन्य दशमलव ०४ डिग्री सेल्सियसले वृद्धि भइरहेको छ । तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाल र हिमनदीमा परेको उनको भनाइ छ । तापक्रम वृद्धिले हिमनदी संकुचित हुँदै गएको र अर्कोतर्फ हिउ पग्लिएर हिमतालको संख्या र क्षेत्रफल बढ्दै गएको उनले उल्लेख गरे ।
उनले सगरमाथा क्षेत्रमा रहेको इम्जा हिमतालको उदाहरण प्रश्तुत गर्दै सन् १९५० आसपाससम्म त्यो क्षेत्रमा ताल नै रहेको बताए । तर बढ्दो तापक्रमले साना–साना पोखरीहरू बन्न थालेको र ती क्रमशः जोडिँदै ठूलो हिमतालमा परिणत भएको उनको भनाइ छ । हिमताल बन्न थालेपछि हिमनदीहरु विस्तारै साँघुरिँदै गएको उहाँको भनाई छ । उहाँले हिमनदीमा परेको असरले नेपालका नदी प्रणालीमा समेत प्रभाव पार्ने बताए ।
उनले जलवायु परिवर्तनका कारण नेपालमा चरम मौसमी तथा जलवायुजन्य घटनाको जोखिम पनि बढिरहेको बताए । चट्याङको घटनासमेत जलवायु परिवर्तनसँग जोडिएको उल्लेख गर्दै चट्याङका घटनामा पनि २० प्रतिशत वृद्धि देखिएको उल्लेख गरे । नेपालले हिमनदी, हिमताल र चरम मौसमी घटनाबाट उत्पन्न जोखिमलाई समग्र रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । जलवायू परिवर्तनका लगायतका हुने कुनैपनि विपद्ले सबैभन्दा बढी प्रभावका कमजोर वर्गलाई पार्ने गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्