‘रिकन्डिसन सवारीमा स्पष्ट नीति नहुँदा फाइनान्समा समस्या भयाे’


काठमाडौँ । रिकन्डिसन सवारी साधनमा सरकारको स्पष्ट नीति नहुँदा फाइनान्समा समस्या भएको व्यवसायीहरूले गुनासो गरेका छन् । आज (सोमबार) नेपाल आर्थिक पत्रकार संघले गरेकाे भेटघाट कार्यक्रममा रिकन्डिसन अटो व्यवसायीहरूले सरकारले बनाउने नीतिहरू मध्ये रिकन्डिसन सवारीमा कुनै पनि वाणिज्य तथा विकास बैंकहरूले फाइनान्स नगर्दा व्यवसायमा समस्या भएको बताएका हुन् ।

नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष रमेश प्रसाद कोइरालाले नयाँ सवारीको हकमा नेपाल राष्ट्र बैंकले विभिन्न नीति बनाउँदा रिकन्डिसन सवारीको हकमा कुनैपनि प्रकारको फाइन्नास सुविधा नल्याउँदा व्यवसाय नै समस्यामा परेको बताए।

दुई वटा कम्पनीको सहयोग

नयाँ सवारी साधनको हकमा बैंक तथा वित्तिय संस्थाहरूले सहजै रूपमा कम्पनीहरूलाई सवारी खरिदमा ऋण उपल्बध गराए पनि रिकन्डिसन सवारीको हकमा भने बैंक तथा वित्तिय संस्थाहरूले ऋण नदिएकाे अध्यक्ष काेइरालाकाे गुनासाे छ ।

त्यस्तै, अहिलेको अवस्थामा हुलास फिन र एमएडब्लुले सेकेन्ड ह्यान्ड गाडी खरिदका लागि ६० प्रतिशतसम्मको ऋण उपलब्ध गराउने संघसँग सम्झौता समेत गरेको छ । गोल्छा ग्रुप अन्तर्गतको हुलास फिन सर्भ लिमिटेडले रिकन्डिसन बजारमा खरिद बिक्री हुने गाडीलाई मूल्याकंनको आधारमा ५० देखि ६० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने सम्झौता गरेको हो ।

कम्पनीका अनुसार बैंकले कर्जा प्रवाह गर्दा चाहिने सबै किसिमका डकुमेन्ट कर्जा आवेदकले पेस गनुपर्ने साथै आम्दानीको स्रोतदेखि कम्पनीको हकमा ब्यालेन्स सिट र कर्जा लिँदा एकजना जमानी बस्न पर्ने आवश्यक हुन्छ ।

छैन तंथ्याक !

नेपाल रिकन्डिसन अटो व्यवसायी संघ प्रयोग भइसकेका वा रिकन्डिसन अटोमोबाइल्सहरूको खरिद तथा विक्री गर्ने व्यवसायीहरूलाई एउटै छातामुनी एकताबद्ध गर्ने उद्देश्यले २०७२ साल फागुन १९ गते स्थापना भएको थियो ।

हाल यस संघमा देशभरिबाट करिब १४४ जना सदस्यहरू सक्रिय रहेका छन् भने कोसी र गण्डकी प्रदेशमा संघको प्रदेश संगठनहरू गठन भै यसै आर्थिक वर्ष अन्य पाँचवटा प्रदेशमाहरू समेत प्रदेश संगठनहरू तयार गर्ने लक्ष्य लिएको संघले जनाएकाे छ ।

तर संघ स्थापना भएको ९ वर्ष बितिसक्दा पनि संघले देशभर रिकन्डिसन सवारीकाे ब्रिकी वितरण र कति व्यवसाय छन् भन्ने विषयको नै तंथ्याक नभएकाे संघका महासचिव कुमार बोगटीले बताए ।

उनले भने, “यसको हामीसँग त्यस्तो यति नै ब्रिकी वितरण वा कति व्यवसायी छन् भन्ने तथ्यांक छैन । अगामी वर्षदेखि त्यसको तंथ्याक संकलन गरेर हामीले सार्वजनिक गर्छौँ ।”

संघले सबै रिकन्डिसन व्यवसायीहरूलाई एउटै छातामुनी ल्याएर व्यवसायीका हकहितको लागि काम गर्ने भनेपनि व्यवसायीहरू र मासिक बिक्री वितरणकाे तंथ्याक नहुँदा व्यवसायीहरू नै समस्यामा परेका छन् । तर कार्यक्रमा उपस्थिती भएका केही व्यवासायीहरूका अनुसार कम्पनीले कोभिड अघि महिनामा तीन दर्जनभन्दा बढी सवारी साधान सहजै बिक्री गरेता पनि कोभिडपछि एक महिनामा एक दर्जन सवारीसाधन बिक्री गर्नपनि हम्मे हम्मे भएको बताएका छन् ।

‘‘एक वर्षअघि सम्म राम्रै थियो । त्यसपछिको अवस्था फेरिएको छ । बजार ५० प्रतिशतभन्दा बढीले सुस्ताएको छ । मान्छेको चाहना विद्युतीय सवारीमा गएका कारण पनि पेट्रोल, डिजल इन्जिन रिकन्डिसनमा थन्किएको छ,’’उनले भने ।

बजारमा नकारात्मक सन्देश बढ्दाे

पछिल्लाे समय रिकन्डिसन सवारी साधनकाे विषयमा बजारमा नकारात्मक सन्देश बढ्दै गएकाे व्यवसायीहरूकाे गुनासाे छ ।

गाडीको कन्डिसन, इन्जिनको अवस्था, उचित मूल्यांकन र नामसारी लगायत अन्य विविध पाटाे यो व्यावसायको सबैभन्दा महत्वपूर्ण पक्ष हुन् । तर केही व्यवसायी र ग्राहकहरूकै बद्मासी गर्ने नियतका कारण यी पक्षमा उचित ध्यान र समन्वय मिलाउन नसक्दा कतिपय ग्राहकले यस्ता गाडीको कारोबारमा समस्या समेत भोग्नु परेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघका अध्यक्ष कोइरालाले बताए ।

उनले भने, “गाडी खरिद गर्दा नै हामीले राम्रोसँग चेकजाँच गरेर बेच्छाैँ । त्यसपछि पनि वर्कशपमा लगेर राम्रोसँग मर्मतसम्भार गरेपछि मात्र बिक्रीका लागि उपलब्ध गराउने र त्यसमा पनि केही समयसम्मको वारेन्टी र सर्भिसिङको ग्यारेन्टी गर्ने हुँदा ग्राहकलाई पछि समस्या हुँदैन । तर पछिल्लाे समय केही समूहले व्यवसायलाई बदनाम गर्ने नियत राख्दा बजारमा नकारात्मक सन्देश गएकाे छ ।”

काेइरालाले उचित र सुलभ बजेटमा पाइने गाडीहरू भनेर बजारमा अर्को दृष्टिकोणले हेरेकाे समेत दाबी गरे । रिकन्डिसन गाडीहरू वर्षौँ पुराना मात्रै छैनन् । हामीसँग एक महिना मात्रै चलाए गाडीहरू पनि छन् । त्यसैले हामीले साेचे जस्ताे नराम्राे गाडीहरू बजारमा आउदैँनन्, । ढुक्क भएर किन्दा हुन्छ” उनले भने ।