अन्तर्वार्तामा आज पनि गएनन् तीनै जना उम्मेदवार, प्रक्रिया रद्द हुने सम्भावना


काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका तीनै जना उम्मेदवार बुधबार पनि अन्तरवार्तामा पुनः अनुपस्थित भएका छन् । अर्थ मन्त्रालयले गत आइतबार उपस्थित नभएका ३ जनालाई कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि आज ९ बजे पुनः बोलाएको थियो ।

कार्यप्रस्तुती तथा अन्तरवार्ताको लागि बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र तत्कालिन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं ११ बजेसम्म पनि उपस्थित भएका छैनन् ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । आइतबार सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कार्ययोजना प्रस्तुती तथा अन्तरवार्ता दिएका थिए । बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो ।

योसँगै बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द हुने सम्भावना देखिएको छ । सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तापछि सिफारिस समितिले ३ जनाको नाम मन्त्रीपरिषदलाई पठाउने र ती ३ जना मध्येबाट एकजनालाई सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने व्यवस्था रहेको छ ।