झिनो अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ७ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा नेपाल फाइनान्सको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको २० करोड २३ लाख ३८ हजार १४० रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेपाल फाइनान्स, समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखुरी साना हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.९९ प्रतिशत, ९.८८ प्रतिशत र ९.३८ प्रतिशतले बढेको छ ।

त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।