बजेटप्रति प्रधानमन्त्री नै असन्तुष्ट रहेको पायौँः लेखक


काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल नै आगामी आर्थिक वर्षको बजेटप्रति पूर्ण सन्तुष्ट नरहेको बताएका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले प्रधानमन्त्रीले मन्त्रालयगत बजेट असन्तुलित रहेको र परिमार्जन गर्ने भनिसक्नुभएको भन्दै मन्त्रालयगत बजेट परिमार्जन गर्नुको विकल्प नरहेको बताए । उनले मन्त्रालयगत बजेटमा प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले बजेटमा असन्तुष्टि जनाउनुले बजेटमा गम्भीर प्रकृतिको कमजोर भएको प्रमाणित हुने बताए ।

“प्रधानमन्त्रीजीले बजेटका बारेमा जुन असन्तुलित ढंगले बजेट वितरण गरिएको छ । यो बजेटको वितरण त्यति उचित छैन । यसलाई परिमार्जन गर्नुपर्छ भनेर बजेटमा विनियोजनमा समस्या रहेकोतर्फ राम्रैसँग संकेत गर्नुभयो । हामी आशा गरौँ । सरकारले बजेट परिमार्जन गर्नेछ ।”

लेखकले बजेटमा गैरजिम्मेवारीपूर्ण विनियोजन देखापरेको भन्दै परिमार्जन गर्नुपर्ने बताए ।