काठमाडौँ । देशका विभिन्न भागमा आगामी तीन दिन भारी वर्षा, मेघगर्जन, चट्याङ, हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले आज जारी गरेको सार्वजनिक सूचनामार्फत असोज ९ गतेदेखि ११ गतेसम्म मौसम प्रतिकूल रहने पूर्वानुमान रहेको जानकारी दिँदै सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन सबै नागरिक, स्थानीय तह तथा सरोकारवाला निकायलाई अनुरोध गरेको हो ।
नेपाल मौसम विज्ञान विभाग, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेका विशेष बुलेटिन तथा पूर्वचेतावनीका आधारमा मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, “उल्लेखित आधिकारिक निकायहरूबाट जारी पूर्वानुमान एवं पूर्वतयारी अपनाउने सम्बन्धी जानकारीको अनिवार्य पालना गर्न गराउनुस् तथा सुरक्षा सावधानी र सतर्कताका लागि देहाय बमोजिम गर्न मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।”
मन्त्रालयले विशेष गरी बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न स्थानीय प्रशासनलाई सहयोग गर्नसमेत अनुरोध गरिएको छ ।
सूचनाअनुसार हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पदयात्रा तथा हिमाल आरोहणमा जाने योजना स्थगित गर्न र उच्च हिमाली क्षेत्रमा रहेका पर्यटक तथा पथप्रदर्शकलाई सुरक्षित स्थानमा फर्किन सुझाव दिइएको छ ।
यात्रुहरूलाई पनि सडक अवरुद्ध हुन सक्ने तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्नुअघि सडक, आन्तरिक उडान तथा सार्वजनिक यातायातको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।
गृह मन्त्रालयले विशेष रूपमा बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग समन्वय गर्न आग्रह गरेको छ ।
सूचनामा भनिएको छ, “जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय प्रशासन लगायतबाट जारी हुने आधिकारिक सूचना र निर्देशनहरूको अनिवार्य पालना गर्न अनुरोध गरिन्छ ।”
मन्त्रालयले आपतकालीन अवस्थाका लागि मौसमसम्बन्धी सूचना नम्बर ११५५, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ तथा राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको हटलाइन ११४९ मा सम्पर्क गर्न सकिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्