निर्यात ३ प्रतिशतले घट्यो


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले करिब १६ खर्ब रुपैयाँ बराबरको कुल व्यापार गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरको आर्थिक वर्ष २०८०/८१ को जेठसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको व्यापार गरेको हो ।

यो व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १।९५ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख ७१ हजार रुपैयाँ बराबरको कुल व्यापार गरेको थियो ।

नेपालले चालू आर्थिक वर्षको ११ महिनामा एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँको निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात ३।०१ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले एक खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँको निर्यात गरेको थियो ।

नेपालको आयात पनि १।८४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको ११ महिनमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँको आयात गरेको नेपालले चालु आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको आयात गरेको छ ।