दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौंः कृषिमन्त्री साह


काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन् ।

शुक्रवार एमाले निकट उद्योगी व्यवसायीहरूसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताएकी हुन् ।

उनले दुग्ध विकास संस्थानको समस्या दीर्घकालिन रुपमा समाधानको लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको उल्लेख गरिन् । उनले मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडलमा सञ्चालन गर्नेगरी छलफल अघि बढेको जानकारी दिइन् । उनले सरकारले दुग्ध विकास संस्थानलाई अहिलेकै रुपमा सञ्चालन गर्ने भन्दा पनि नयाँ ढङ्गले दीर्घकालिन रुपमा समस्या समाधान गर्नेगरी लान आवश्यक रहेको बताइन् ।

उनले संस्थानले किसान र दुग्ध व्यवसायीहरु माथि खेलवाड गर्न नमिल्ने बताइन् । उनले दुग्ध किसानको भुक्तानी समेत दिन नसक्ने संस्थानलाई अहिलेकै रुपमा लैजानुपर्छ भन्ने आवश्यकता नदेखिएको बताइन् । उनले संस्थानलाई नयाँ स्वरुपमा सञ्चालन गर्नेगरी अबको एक महिनामा उथलपुथल गरिने बताइन् ।