रास्वपालाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता छः महामन्त्री शर्मा


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ ? भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको बताए ।

उनले भने,”एउटा दललाई कसरी हुन्छ आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस् । कारबाहीको प्रक्रियाबाट जोगाउन सकियोस् । एउटा दलको चिन्ता जम्मा त्यति मात्रै छ । अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरिबन्धुको ठगीबाट अध्यक्षज्युलाई जोगाउन सकियोस् भन्ने छ । प्रधानमन्त्रीजीलाई चिन्ता गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै छ ।”

महामन्त्री शर्माले नेपालमा आशावादी सम्भावनाहरु रहेको भएपनि त्यसलाई सही सदुपयोग गर्न नसकेको बताए ।