विप्रेषणबाट प्राप्त भएको रकम उत्पादनको क्षेत्रमा लगाऔँः सांसद दाहाल


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले सरकारले वर्तमान अर्थतन्त्रमा आएको मन्दी र शिथिलतालाई समाधान गर्न गहिरो प्रतिवद्धता र योजना कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी छिन् ।

बिहीवारको राष्ट्रिय सभा बैठकमा उनले सरकार,सहकारी र निजी क्षेत्रको बीचमा सन्तुलन र समन्वय हुन आवश्यक रहेको बताइन् ।

उनले कर असुलीलाई प्रोत्साहन गर्दै नियन्त्रण गर्ने र कर वृद्धिको लागि दायरा बिस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइन् । विप्रेषणबाट प्राप्त भएको रकमलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्ने उनकाे भनाइ छ ।

उनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्नको निम्ति उद्योग स्थापना गर्नको निम्ति सहजता प्रदान गर्न सरकारको ध्यनाकर्षण गराइन् । लगानीमैत्री वातावरण बनाउँदै अघिल्ला सरकारले अघि सारेका राम्रा र सकारात्मक आर्थिक लाभ दिनसक्ने, आम्दानी दिनसक्ने योजनाहरुलाई निरन्तरता दिनुपर्नेमा उनकाे जाेड रहेकाे छ ।

आफ्नो देशभित्र उत्पादन गर्न सकिने उत्पादनका वस्तुहरु पहिचान गर्दै उद्योग स्थापनामा जोड दिनुपर्ने उनले बताइन् । उनले वाह्य क्षेत्र वा अन्तर्राष्ट्रिय क्षेत्रका लगानी कर्ता उद्योगी, आप्रवासी नेपालीहरुलाई पुँजीको सुरक्षा र विश्वासिलो वातावरण बनाइ आकर्षण गर्ने नीति लिनुपर्ने उल्लेख गरिन् । 

सांसद दाहालले राष्ट्रिय गौरवका आयोजनाहरु आधा र अधुरा हुँदा खर्चिला बनेको बताइन् ।