देशभर विभिन्न कार्यक्रम गरि मनाइयो २१ औँ राष्ट्रिय धान दिवस


काठमाडौँ ।असार १५ अर्थात्, २१ औं राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ काठमाडौँको काभ्रेस्थलीमा खाद्यका लागि कृषि अभियान, कालिदेवी उच्च मावि काभ्रेस्थली र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज) काे संयुक्त आयाेजनामा धान दिवस मनाइएको थियो ।

कार्यक्रममा बाेल्दै खाद्यका लागि कृषि अभियानका संयाेजक उद्धव अधिकारीले रैथाने जातका धान तथा बाली लोपोन्मुख बन्न थालेकाे बताउँदै संरक्षण गर्न तीनै तहकाे सरकारकाे पहल आवश्यक रहेकाे बताए ।

प्रधानमन्त्री पुष्प कमल दाहालको प्रमुख आतिथ्यमा यो वर्षको धान दिवसको मुल कार्यक्रम चितवनको बछौलीमा भएकाे थियाे भने विभिन्न संघसंस्थाहरूको आयोजनामा देशभर कार्यक्रम गरिएकाे थियाे ।

जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकरात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलव्ध प्रविधिहरूको विषयलाई सचेतना फैलाउने सन्देश यो वर्षको धान दिवसको नाराले दिएको छ ।

योवर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन। सरकारी तथ्यांकअनुसार अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइ भएको छ।

२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।