सहकारी संस्थाहरूलाई विभागको नयाँ निर्देशन, ३ महिनासम्म कर्जाको पुनर्तालिकीकरण गर्न पाउने


काठमाडौँ । सहकारी विभागले सहकारी संघसंस्थाहरूलाई असल ऋणीहरूले पाकेको ब्याजको ५० प्रतिशत रकम तिरेमा बाँकी साँवालाई तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न निर्देशन दिएको छ।

आज (बुधावार) सहकारी संघसंस्थालाई निर्देशन जारी गर्दै विभागले परिस्थितीजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीको हकमा यो व्यवस्था लागू गर्न भनेको छ। यस्तो सुविधा खराब ऋणीको सूचिमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरूले मात्र पाउनेछन्।

विभागले कर्जा पुनर्तालिकीकरण गर्नुपर्ने स्पष्ट आधारहरू प्रत्येक कर्जा फाइलमा संलग्न गर्नुपर्ने र पुनर्तालिकीकरणपछि कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखाङ्कन गर्न सहकारीलाई निर्देशन दिएको छ।

सहकारीले कर्जा पुनर्तालिकीकरण गर्दा ऋणीबाट कुनै प्रकारको शुल्क वा हर्जना लिन पाउने छैनन्। विभागले सहकारी क्षेत्रमा पछिल्लो समय देखा परेको समस्या कारण सहकारी संघसंस्थाहरू तथा सदस्यहरूको व्यवसाय समेत प्रभावित भएको भन्दै सहकारी क्षेत्रको पुनर्उत्थानका लागि सहकारी नियमावली, २०७५ को नियम ७६(१) (झ) अनुसार उक्त निर्देशन दिएको जनाएको छ ।

विभागले आफ्ना सदस्यहरूसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तीय साक्षरता अभिवृद्धि र सदस्य केन्द्रित सेवा प्रवाह मार्फत सदस्यहरूको विश्वास आर्जनामा केन्द्रित हुन निर्देशन दिएको हो ।