काठमाडौँ महानगरद्वारा मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई जरिवाना


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’ का उत्पादक कम्पनीलाई आठ लाख रुपैयाँ जरिवाना गराएको छ । कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड भ्यालु धेरै भएको पाएपछि जरिवाना गरेको हो ।

मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालु भइ सरकारले तोकेको गुणस्तर नभएकोमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याचरलट नम्बर–२ को रिफाइन सोयाबिन आयल रहेको महानगरले जनाएको छ । यो श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, मोरङको उत्पादन रहेको कामपा कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

प्रमुख न्यौपानेका अनुसार विसं २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याचरलट नम्बर ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याचरलट नम्बर ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएकाले जरिवाना गराइएको हो । यी उत्पादनहरू क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन् ।

विसं २०८० माघमा उत्पादन भएको, ब्याचरलट नम्बर १० को फेमिली ब्रान्डको आयातित तोरीबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको प्रमुख न्यौपानेले जानकारी दिए । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो ।

उक्त ब्रान्डहरुको नमूना परीक्षणका लागि कामपाले गत वैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि उक्त ब्रान्डहरूलाई कारबाही गरिएको हो ।