ज्योति विकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बराल र सहायक महाप्रबन्धक पदमा थापाकाे पदोन्नति


काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ।

बैंकले मिति २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा बढीको अनुभव बोकेका नव-नियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिना देखि यस बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका थिए ।

चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव रहेको छ।

यसका साथै, बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव-नियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा सुरुवात गरि विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गरेका छन् ।