महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्नेकुरा ऐतिहासिक निर्णय होः अध्यक्ष ढकाल


काठमाडाैँ । उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने भएको छ । सोमवार महासंघको केन्द्रिय कार्यसमिति बैठकले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने निर्णय गरेको हो ।

महासंघमा यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गरिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । उनले महासंघ कार्यसमितिको सोमवारको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने गरी विधान संशोधन गर्नु ऐतिहासिक निर्णय भएको दाबी गरे ।

अध्यक्ष ढकालले महासंघको विधान संशोधन गर्न बनेका दुई वटा विधान संशोधन समितिका सुझावका आधारमा कार्यसमितिबाट सर्वसम्मतिले पारित गरेको बताए ।

विगतमा विधान संशोधनका लागि विभिन्न कार्यदल तथा समितिहरु बने पनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको भन्दै आगामी दिनमा अब प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष बन्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे ।

अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर गएको निर्वाचनकै बेला विधान संशोधनको प्रतिवद्धता अनुसार कार्यसमितिले सर्वसम्मत पारित गरेको उनले बताए । यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने उनले जानकारी दिए ।

अध्यक्ष ढकालले संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जना र हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको बताए । उनले महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी महासंघको विशेष साधारणसभामा पेश गरी पारित गर्ने उल्लेख गरे ।

अध्यक्ष ढकालले सबै उद्योग वाणिज्य महासंघ सबै सदस्यहरुको आकांक्षा महासंघको अध्यक्ष प्रत्यक्ष हुनुपर्छ भन्ने रहेको माग कार्यसमितिले पुरा गरेको बताए ।

कार्य समितिमा विधानको दफा–दफामा छलफल गरेर सर्वसहमत निर्णय भएको उनकाे भनाइ छ । उनले  महासंघको इतिहासमा सोमवारको निर्णय ऐतिहासिक भएको दाबी गरे । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानले निर्वाचित भएपछि महासंघको काममा सक्रियता कम हुने आफैँले अनुभव गरेको उनले उल्लेख गरे । उनले प्रत्यक्ष निर्वाचित अध्यक्ष हुँदा काम गर्नुपर्ने सक्रियता धेरै फरक हुने बताए । 

उनले महासंघमा समानुपातिक र समावेशी बनाउने गरी विधान संशोधन गरेर अघि बढेको उल्लेख गरे । अध्यक्ष ढकालले जिल्ला नगरका अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षलाई भोट हाल्ने तर भोट नहालेको व्यक्ति अध्यक्ष भएकाले विधान संशोधन गर्न माग गरेको बताए ।

उनले जिल्ला तहको नेतृत्व परिवर्तन भएपछि वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था भएकाले विधान संशोधन गरी प्रत्यक्ष निर्वाचित अध्यक्षसँग जिल्ला नगर सदस्यहरुको माग रहेको बताएका छन् ।