एक महिनाभित्र जनताले अनुभुति गर्ने काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडाैँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनाभित्र जनताले अनभुति हुनेगरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

सोमवार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले उनले सो निर्देशन दिएकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यसैगरी प्रधानमन्त्री ओलीले ६ महिनाभित्र जनतालाई सरकारले आश्वस्त पार्ने र परिणाम आउने गरी काम गर्न मन्त्रीलाई सचेत गराएका थिए ।

६ महिनाभित्र जनतालाई ढुक्क हुने स्थिति बनाउने र एक वर्ष भित्र इन्डिकेटरको हिसावले पनि देखिने गरी परिणाममुखि काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएकाे पनि प्रवक्ता गुरुङले बताए । उनले विकास, निर्माणको काम, उत्पादन वृद्धिको काममा आपसी समन्वय गरेर अघि बढ्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए । सरकारलाई असफल हुने छुट नभएकाले त्यो अनुसार आपसी समन्वय गरेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीले निर्देशन दिएको प्रवक्ता गुरुङको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले राष्ट्र र राष्ट्रिय हितको पक्षमा पनि दृढतापूर्वक उभिँदै काम गर्न मन्त्रीलाई सचेत गराएका थिए ।