विपद् न्यूनीकरणमा ध्यान केन्द्रित गराउन गण्डकीका मुख्यमन्त्री पाण्डेको निर्देशन


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

सरोकारावालाबिच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा सोमबार भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनस्र्थापनाका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र विपद्को उच्च जोखिम रहेको र विगत वर्षभन्दा यस वर्ष धेरै क्षति बेहोर्नुपरेकाले सबै संवेदनशील हुन जरुरी रहेको बताए ।

मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई पनि सुझाए । स्थानीय सरकार, संघ सरकारसँगका कार्यालयहरुसँगको सहकार्य र समन्वयमा प्रदेश सरकारलेपनि विपद् व्यवस्थापनका कार्यहरु गर्दै आएको मुख्यमन्त्री पाण्डेले बताए ।

विपद्का कारण क्षति बेहोर्नुपरेका, ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयहरुबाट वितरण भइरहेको र सहज प्रक्रियाबाट तत्कालै वितरण गर्न निर्देशन दिए ।

विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन सञ्चार माध्यामको महत्वपूर्ण भूमिका हुने भएकाले सञ्चार क्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन प्रशारण गर्न मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।

मनसुन सुरु भएपश्चात गण्डकी प्रदेशभित्र बाढी, पहिरो लगायत विपद्का कारण भएको क्षति, राहत वितरण, उद्धार, उपचार, पुनस्र्थापना लगायतका विषयमा सरोकारवालाबिच छलफल भएको हो ।