आर्थिक गतिविधिका मुख्य क्षेत्र सुस्तः रातका


काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालय (रातका)ले आर्थिक गतिविधिलाई चलायमान बनाउने मुख्य क्षेत्रहरूमा सङ्कुचन जारी रहेको बताएको छ ।अर्थतन्त्रका वास्तविक क्षेत्र भनेको उत्पादन, रोजगारी, र वस्तु तथा सेवाको वितरणसँग सम्बन्धित क्षेत्रहरू हुन्। यी अर्थतन्त्रको सम्पूर्ण उत्पादन र उपभोगमा प्रत्यक्ष प्रभाव पार्ने मुख्य क्रियाकलाप हुन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक अवधि (२०८० चैत मसान्तसम्म) को त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार आर्थिक गतिविधिलाई चलायमान बनाउने उत्पादनमूलक उद्योग, निर्माण, खानी तथा उत्खनन र थोक तथा खुद्रा व्यापार क्षेत्रको आर्थिक वृद्धिदर ऋणात्मक भएको छ । यी चारै क्षेत्र एकअर्कासँग सम्बन्धित छन्, जसले आर्थिक गतिविधिलाई चलायमान बनाउँछन् ।

तेस्रो त्रैमासिक अवधिमा औद्योगिक क्षेत्रको वृद्धिदर २.०३ प्रतिशतले ऋणात्मक भएको छ । अघिल्लो त्रैमासिक अवधिमा पनि औद्योगिक क्षेत्रको वृद्धिदर २.८३ प्रतिशतले ऋणात्मक थियो । यसको सोझो अर्थ पछिल्लो ६ महिनाको अवधिमा औद्योगिक क्षेत्र व्यापक सङ्कुचनको अवस्थामा गुज्रिइ रहेको छ । यसले उत्पादनको आधार कमजोर भएको सङ्केत गर्छ । औद्योगिक क्षेत्र सङ्कुचित हुनु भनेको समग्र अर्थतन्त्रमा समस्या छ भन्ने कुराको सङ्केतक हो ।

नेपाली अर्थतन्त्रलाई उपभोगमुखी अर्थतन्त्र मानिन्छ । बजारमा माग र उपभोग दुवै खस्किँदा थोक तथा खुद्रा व्यापारको वृद्धिदर पनि तेस्रो त्रैमासिक अवधिमा २.७ प्रतिशतले ऋणात्मक रहेको रातकाले उल्लेख गरेको छ । अघिल्लो त्रैमासिकमा नाममात्रको अर्थात ०.८ प्रतिशतले वृद्धि भएको थियो भने पहिलो त्रैमासिक अवधिमा थोक तथा खुद्रा व्यापारको वृद्धिदर ०.८ प्रतिशतले ऋणात्मक भएको थियो ।

आर्थिक गतिविधिलाई चलायमान बनाउने तेस्रो प्रमुख क्षेत्र निर्माण क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै अर्थात् ११.२ प्रतिशतले ऋणात्मक भएको छ । सरकारले निर्माण व्यावसायीहरूको ५० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी तिर्न बाँकी रहेको र आफूले नयाँ निर्माण गतिविधि पनि अघि बढाउन नसकेको कारणले निर्माण क्षेत्रको वृद्धिदर व्यापक रुपमा घटेको हो । अघिल्लो त्रैमासिक अवधिमा पनि निर्माण क्षेत्रको वृद्धिदर ०.७ प्रतिशतले ऋणात्मक भएको थियो ।

निर्माण गतिविधि नै ठप्प भएपछि यससँग आश्रित रहेको खानी तथा उत्खनन् क्षेत्रको वृद्धिदर पनि ४.८ प्रतिशतले ऋणात्मक भएको छ ।

अर्थतन्त्रका यी प्रमुख क्षेत्रहरूमा भएको व्यापक सङ्कुचनका कारण रोजगारी र अन्य आर्थिक क्रियाकलापमा पनि गम्भीर असर पारेको छ किनकी उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार क्षेत्र नै नेपालमा आन्तरिक रोजगारीका मुख्य क्षेत्रहरू हुन् । नेपालमा बेरोजगारीको त्रैमासिक वा वार्षिक अध्ययन वा सर्वे गर्ने प्रणाली नभएका कारण हाल अर्थतन्त्रका मुख्य क्षेत्रहरूमा देखापरेको मन्दीको वास्तविक असरको तथ्याङ्क नदेखिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० सँग तुलना गर्दा समग्र आर्थिक वृद्धिदर पनि सन्तोषजनक छैन । आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिमा समग्र आर्थिक वृद्धिदर २‍.५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ आर्थिक वृद्धिदर २.२ प्रतिशतमा झरेको छ ।