राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यकः उद्योगमन्त्री भण्डारी


काठमाडाैँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्।

बिहीवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री भण्डारीले रोजगारी सिर्जना गरी विदेश पलायन हुने युवा जनशक्ति रोक्नको लागि उद्योग सञ्चालन गर्नु जरुरी रहेको बताए ।

उनले मुलुकमा उद्योगमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गरेर युवाहरुलाई स्वदेश फर्काउन सकिने उल्लेख गरे । उद्योग मन्त्रालय नीतिगत रुपमा अहिले पनि ओझेलमा परेको उनकाे भनाइ छ ।

उद्योग तथा आपूर्ति मन्त्रालयले माग गरे अनुसारको नीतिगत व्यवस्था अझै पनि प्राप्त गर्न नसकेको उनले बताए । उनले मन्त्रालयले नीतिगत सुधारका पक्षहरुलाई विशेष महत्वका साथ सुधारका पक्षमा काम गरिरहेको जानकारी दिए । लगानी सम्मेलनपछि लगानी सहजिकरणका लागि आवश्यक ऐन संशोधनले सबैभन्दा बढी प्रभाव सेजमा देखिएको उनकाे भनाइ छ।

उनले सेजलाई मर्ज गर्नुपर्छ भन्ने ठाउँमा पुगेको सरकार अहिले सेजका उद्योगहरु सञ्चालन हुने ठाउँमा पुगेको बताए । उद्योग मन्त्री भण्डारीले सुर्तिजन्य पदार्थहरुको प्रयोगलाई नीतिमार्फत निरुत्साहित गर्न आवश्यक रहेको उल्लेख गरे। सरकारले नीतिमार्फत निरुत्साहित गर्न आवश्यक भएपनि सरकारले नीतिगत व्यवस्था गरेर उद्योगहरु सञ्चालन गरी रहेको उनले बताए । उनले छिमेकी मुलुकमा सुर्तिजन्य पदार्थको उत्पादन र वितरणमा ७५ प्रतिशतसम्म कर लगाएर रोक लगाएको उनकाे भनाइ छ ।

नेपाल अझै सुर्तिजन्य पदार्थहरुको प्रयोगसम्बन्धि ऐन, कानून र नीतिमा अभ्यस्त बन्न नसकेको उनले बताए । उनले सुर्तिजन्य उद्योगको क्षमता वृद्धि गर्नेकुरा भन्दा पनि निरुत्साहित गर्न आवश्यक भएपनि उद्योग सञ्चालन गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।

कोभिड पछि नेपालको अर्थतन्त्र आएको शिथिलतले सबैभन्दा ठूलो प्रभाव उद्योग र उत्पादन क्षेत्र भएकाले अर्थतन्त्र र उद्योगमा संकुचन आएको उनकाे भनाइ छ ।