अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरू हटाउन प्रधानमन्त्री सकारात्मक


काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले आज (सोमबार) प्रधानमन्त्री ओलीसँग भेटगरी विभिन्न विषयहरूमा छलफल गरेको हो।

छलफलमा अध्यक्ष चौधरीले अटोमोबाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूबारे संक्षिप्त रूपमा चर्चा गर्दे सरकारका बिभिन्न कार्यविधीहरूको कारण अटोमोबाइल ब्यवसायीहरू आफनो व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुदै गएको सन्दर्भमा नेपालको अटोमोबाइल व्यवसायलाई माथि उठाउन आवश्यक नीतिगत सुझावहरू पेश गरेका छन् ।

अध्यक्ष चौधरीले विशेषगरी अटोमोबाइल व्यवसायलाई पुनः गतिशिल बनाउन बैकहरूबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हालको ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालु पुँजी कर्जा मार्ग दर्शन २०७९ लागु भएपछि लागु भएको मितिभन्दा अगाडि कर्जा लिएकाहरूलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मिति पछि कर्जा लिएकाहरूलाई मात्रै चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागु हुनेगरी कार्यान्वयनमा ल्याएमा सम्पूर्ण समस्याको समाधान हुने बताएका थिए।

त्यसैगरी सो छलफलमा अध्यक्ष चोधरीले नेपालमा विद्युतीय सवारी साधनहरूको आयात बढ्दै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरूमा चार्जिङ स्टेसनहरूको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरूका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउनु पर्ने जिकिर गरे।

अध्यक्ष चौधरीले दुई पांग्रे सवारी साधनहरूको सन्दर्भमा पनि पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्थाका लागिसमेत आग्रह गर्दै नेपालमा आयात भइरहेका दुई पांग्रे सवारी साधनहरू मध्ये करिब ९८ प्रतिशतभन्दा बढी आयात भारतमा निर्मित दुई पांग्रे सवारी साधनहरू भएको बताए ।

तर हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज, भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभइ फरक साइजको भएकोले सवारी सञ्चालनको क्रममा अगाडिको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको नाडाको ठम्याइ छ।

त्यसैले इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरि दिनसमेत नाडाले प्रधानमन्त्रीलाई अनुरोध गरेको छ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोबाइल उद्योगहरूको समस्या र चुनौतीहरू बारे जानकारी दिए। सो छलफलमा प्रधानमन्त्री ओलीले सवारी साधन, टायरटयूव, ब्याट्री तथा लुव्रिकेन्ट उद्योगहरूको वर्तमान अवस्थाका सम्बन्धमा विशेष चासो र जिज्ञासा राख्दै प्रस्तुत समस्याहरूको समाधानका लागि आवश्यक पहलकदमी लिइने आश्वासन दिएका थिए। उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा एसाेसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो।

Skip This