काठमाडौँ उपत्यकामा विशेष पोलियो खोप अभियान सुरू


काठमाडाैँ । काठमाडौँ उपत्यकामा आजबाट विशेष पोलियो खोप अभियान सुरू भएको छ । बुधवारबाट उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) मा ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरूका लागि विशेष पोलियो खोप अभियान सुरू भएको हो ।

खोप स्वास्थ्यकर्मी र महिला सामुदाकियक स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमा पुगेर खुवाउन सुरू गरिएको हो । काठमाडौँ महानगरपालिका वडा नम्बर २९ की स्वास्थ्य स्वयंसेविका निर्मला सुवेदीले वडाले तोकिदिएको क्षेत्रमा पुगेर घरघरमा पोलियो खोप अभियान सुरू गरिएको बताए ।

उनले विद्यालयमा पुगेर ख्वाउन सहज भएपनि त्यसबाहेक विद्यालय नजाने बालबालिकाहरूका लागि घरघरमै पुगेर खुवाउने अभियान सुरू गरेको बताए । उनले कतिपय अभिभावकहरूले कुरा नुबझ्दा असहज भएको पनि बताए ।

पोलियो भाइरसबाट संक्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरका अनुसार पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ ।

पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ । यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो बिरुद्धको खोप नै हो । सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ ।

Skip This