मेटमणिको प्रश्नः १ अर्ब ६० करोड पैसा नतिर्नेको राज्यमा रजगज चलिरहनुपर्ने ?


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले विद्युतको पैसा नतिर्ने उद्योगीहरूले राज्यमा रजगज चलाइरहेको बताएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले जनताहरू एक हजार रुपैयाँ नभएर अन्धकारमा बस्नुपरेको बताएका हुन् । उनले जनताहरू अन्धकारमा बस्नुपरेको तर विद्युतको १ अर्ब ६० करोड रुपैयाँ पैसा नतिर्नेहरूको रजगज चलिरहेको बताए । उनले ठूला व्यापारीहरूलाई सरकारले सदासयता देखाएको भन्दै यो कस्तो सुशासन हो भनि प्रश्न गरे ।

“एक हजार रुपैयाँ नभएर जनताहरू अन्धकारमा बस्नु परिरहेको छ । तर १ अर्ब ६० करोड पैसा नतिर्ने पनि राज्यमा रजगज चलिरहनुपर्ने । यो कस्तो सुशासन हो ? कानून सबैलाई बराबर हो । तर यहाँ ठूला व्यापारीलाई सदासयता देखाउने । गरिब जनतालाई सूचना समेत नदिइकन लाइन काट्ने,” उनले भने ।

प्रमुख सचेतक चौधरीले देशमा सधैँभरी घाटाका परियोजनाहरू ल्याउने गरिएको भन्दै यसो गर्नु राष्ट्रहित विपरितको कुरा भएको बताए । उनले यस्ता परियोजना छनौट गर्ने प्रधानमन्त्री, मन्त्री र सांसदहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।