संसद भवन निर्माणमा ढिलाई भएकोमा उपप्रधानमन्त्री सिंहको असन्तुष्टि, छिटो सक्न निर्देशन


काठमाडाैँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित संघीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलवार अनुगमनको क्रममा पुगेका सिंहले थप गरिएको समयभित्र निर्माण कार्य सम्पन्न हुनेगरी निर्माण कम्पनीले काम नगरेपछि असन्तुष्टि व्यक्त गरे ।

उहाँले सबै सम्भावनाहरुलाई प्रयोग गरेर भएपनि थप गरिएको समय सीमाभित्र सो भवन निर्माण कार्य सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन दिए ।

पछिल्लो पटक थप गरिएको समय अब नौ महिना बाँकि रहेकाले त्यसमा सम्पन्न हुनेगरी कामहरुको संख्या बढाएर कामलाई तिब्रता दिन पनि उपप्रधानमन्त्री सिंहले निर्माण कम्पनीलाई सचेत गराएका छन् ।

समयमै काम सम्पन्न हुनेगरी दैनिक तीन सिफ्टमा काम गर्न आफूहरुले निर्माण कम्पनीलाई घच्घच्याउने काम गरिहेका उपप्रधानमन्त्री सिंहले बताए ।

बाँकि भएको कामलाई कन्ट्रयाक गरेको समयभित्रै सक्नका लागि काममा ढिलासुस्ती भएकाले त्यसलाई घच्घच्याउनका लागि पनि आफूहरुले काम गरिरहेको उपप्रधानमन्त्री सिंहको भनाई थियो । 

शहरी विकास मन्त्रालयले सो काम छिटो सम्पन्नका लागि कामदारको संख्या दोब्बर बनाउन पनि निर्माण कम्पनीलाई दबाब दिँदै आएको छ । तर ठेकदार कम्पनीले सो अनुसार काम नगरेको मन्त्रालयका सचिव मनिराम गेलालले बताए ।

उनका अनुसार आगामी नौ महिनाभित्र अथवा आगामी चैत्र १८ गतेसम्मका सो भवनको निर्माण कार्य सम्पन्न गरिसक्ने पछिल्लो सम्झौता छ । त्यस अवधिभित्र सम्पन्न हुनेगरी काम गर्न निर्माण कम्पनीलाई सहरी विकास मन्त्रालयले दबाब दिँदै आएको छ ।

२०७६ साल असोज १६ गते करिव ६ अर्व ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौतासहित शुरु भएको सो भवन निर्माण कार्य कोभिडको कारण केही समय पछि धकेलिएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

बाँकी भने थप गरिएको समयभित्र सो कार्य सम्पन्न गराउनका लागि निर्माण कम्पनीलाई निरन्तर दबाब दिने काम भईरहेको मन्त्रालयका सचिव गेलालले बताए । यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो भवन निर्माण कार्य छिटो सक्नेगरी आवश्यक सहजीकरण गर्न सरकारलाई सचेत गराउँदै आएका छन् ।