समितिको अहिलेसम्मको अध्ययनले बचत परिचालनको निम्ति सहकारी आवश्यकता देखिएनः सभापति थापा


काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापाले बचत परिचालनको निम्ति सहकारी नै आवश्यक नभएको बताएका छन् ।

मंगलवार समितिले सहकारी अभियान्ताहरूसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौँको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन् । उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरूको आर्थिक अवस्था राम्रो रहेको बताए । उनले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले बचत तथा ऋण सहकारी धेरै भएको बताए ।

सभापति थापाले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताउँदै सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको दाबी गरे। उनले सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित भए मात्रै पनि देशको आवश्यकता सम्बोधन हुने बताए ।

उनले बचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले २०७७\०८७ अगाडि नै ७५३ पालिकामा बैंकहरूका एउटा शाखा पु¥याउनुपर्छ भन्ने नीति अनुसार बैंकहरूको पहुँच बढाइएको बताए । उनले सहकारीमा १४ करोडसम्म वचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा बचत गर्नु गैरकानूनी भएको बताए ।उनले १० लाख भन्दा बढी बचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरूले पाइने विषय राम्रो नभएको बताए । उनले समितिले छानबिन गर्नुपर्ने २९ वटा सहकारीमा १२ वटा एउटै मानिसको भेटिएको बताए ।