सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउँछुः उपप्रधानमन्त्री सिंह


काठमाडाैँ । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०८१÷०८२ देखि सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताएका छन् ।

बिहीवार मन्त्रालयमा उपत्यका मेयर्स फोरमहरुसँगको भेटका क्रममा उनले सडक बत्तीका लागि उपत्यकाका स्थानीय तहले ६० प्रतिशत र सरकारले ४० प्रतिशत तिर्ने गरी व्यवस्था गर्न मन्त्रायले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले काठमाडौं उपत्यका मेयर फोरमले आफ्ना समस्याहरु खुलेर राखेको भन्दै व्यवधान र अवरोध भए खुलाउनका लागि मन्त्रालय तयार रहेको बताए ।

शहरी विकास मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्ने भन्ने नभएको भन्दै गाउँहरुमा सडकदेखि व्यवस्थापन गर्ने काम पनि शहरी विकास मन्त्रायलकै रहेको उनले उल्लेख गरे । सडकको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिने उनकाे भनाइ छ ।

उपप्रधानमन्त्री सिंहले शहर स्वच्छ हुनुपर्ने चन्दै नदीको सरसफाईमा तीन तहकै सरकार मिलेर काम अघि बढाउने बताए । काठमाडौं उपत्यका प्राधिकरणलाई पुनःसंरचना गरी मेयरहरुको सहभागिता गराइने उनले उल्लेख गरे ।

उपत्यकाको फोहोरमैला व्यवस्थापनमा आनाकानी गर्न नहुने उनकाे भनाइ छ । नदीमा सिधा ढल मिसाउन नदिने गरी व्यवस्थापनमा लागेको उनले बताए ।