सरकारले भूमि,नापी,गुठी र सहकारीको एकीकृत ऐन ल्याउँछः भूमिमन्त्री अधिकारी


काठमाडाैँ । भूमि, व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकार भूमि,नापी,गुठी र सहकारीको एकीकृत ऐन ल्याउने तयारीमा रहेको बताएका छन् ।

सोमवार घरजग्गा तथा आवास विकास महासंघका पदाधिकारीहरूसँगको भेटमा मन्त्री अधिकारीले यस्तो बताएका हुन् । मन्त्री अधिकारीले भूमि मन्त्रालय अन्तर्गत गर्ने सहकारी,भूमि र गुठी सम्बन्धि ऐनलाई परिमार्जन गर्ने तयारीमा सरकार रहेको बताए । उनले सरकारले यी ऐन संशोधनको लागि ड्राफ्टको काम भइरहेको उल्लेख गरे ।

मन्त्री अधिकारीले नापी र मालपोत एकीकृत गर्ने धारणा आएपनि अहिले गर्नसक्ने अवस्था नभएको बताए । उनले भूमि,नापी सम्बन्धि मात्रै पनि चार वटा भन्दा बढी कानूनहरू रहेको भन्दै यी कानूनहरूलाई एकीकृत ऐन ल्याउन आवश्यक रहेको बताए ।

उनले गुठीमा ऐनमा अझ बढी विविधता रहेको भन्दै प्रत्येक गुठीको फरक–फरक नियम रहेकाले गुठीको एकीकृत ऐन बनाउने र उक्त ऐन अन्तर्गत रहेर कार्यविधि र नियमावलीमा सम्बन्धित गुठीको कार्यविधि बनाउने तयारी सरकारको रहेको बताए । उनले भूमि,नापी,गुठी र सहकारीको मुल ऐनले नियन्त्रण गरी कार्यविधि र नियमावलीले कार्यान्वयन गर्नसक्ने गरी कानून बनाउने प्रतिवद्धता जनाए ।

घरजग्गा व्यवासायीहरूले मन्त्री अधिकारीसँग घरजग्गाको कारोबार मर्यादित र अनुसाशित बनाउन अहिले भएको संरचनाले नभएको भन्दै ल्याण्ड मार्केटको अवधारणा ल्याउन माग गरेका छन् । उनीहरूले जग्गाको कारोबार अण्डर भ्वाइस मूल्यमा कारोबार भएकाले मुलुकमा राजश्व संकलनमा असर परेको जानकारी गएका छन् ।