टुकुचामाथिको सडक भासिएपछि बालेनले भने: खोलामाथि पुल बन्नुपर्छ, घर र बाटो होइन


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दरबारमार्ग र कमलादी जोड्ने सडकखण्डमा परेको खाल्डो टुकुचा खोलामाथिको रहेको बताएका छन्।

महानगरपालिकाकै कार्यालय अगाडि परेको भ्वाङबारे सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “यो टुकुचामाथिको बाटो हो। अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन्। काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ। अदालती कारणले केहि रोकिन परेको थियो।”

अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि उनले बताएका छ्न।

मेयर शाहले भनेका छन्, “यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन।”