मुलुकमा छिट्टै सतप्रतिशत विद्युतिकरणको घोषणा हुन्छः कार्यकारी निर्देशक घिसिङ


काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा सतप्रतिशत विद्युतिकरण घोषणा हुने बताएका छन्।

शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा सतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताए।

घिसिङले ८ वर्षअघि करिव ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिव ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताए।

कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ति जाने र आउने हुनेगरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको दाबी गरे।

उनले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा पुगेको जानकारी उनले गराए।

कार्यकारी निर्देशक घिसिङले भने, “‘आठ वर्षअघि वर्षायाममा समेत दैनिक ८÷९ घण्टा र सुख्खायाममा १८ घण्टा सम्म लोडसेडिङ भोग्नुपरेको कहालीलाग्दो अवस्थाबाट हाल वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत दैनिक ७०० मेगावाट भन्दा बढी निर्यात हुने अवस्थामा पुगेका छौँ । ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिव ९९ प्रतिशतभन्दा बढीमा पुगेको छ । सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको यो नै सबभन्दा ठूलो सफलता हो । अब छिट्टै मुलुक सतप्रतिशत विद्युतिकरण घोषणा गर्ने अवस्थामा पुगेको छ ।”

कार्यकारी निर्देशक घिसिङले हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरे पनि आयातको परिणाम क्रमशः घट्दै जाने बताए।

सुकुम्वासी, चेपाङ र मुसहर लगायतका विपन्न वर्गहरुलाई निःशुल्क मिटरसहितको विद्युत सेवा उपलब्ध गराइएको उनको भनाइ छ।

—न्युज एजेन्सी नेपाल