पर्यटन मन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफलः पर्यटन क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता


काठमाण्डौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ ।

आइतबार मन्त्रीलाई बधाइ तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याईनुपर्नेमा जोड दिएको छ ।

यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालन समय सम्बन्धमा पनि सुझाव दिएको छ ।

परिसंघकोतर्फबाट सफल कार्यकालको शुभकामना दिदैँ परिसंघका उपाध्यक्ष राज बहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए । पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउदै उहाँले समाधानका उपाय समेत उनले सुझाए ।

छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे ।

पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म संचालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न उनले आग्रह गरेका छन् । सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मुल्य धेरै भएकोले लक्ष्य अनुरुप पर्यटकहरु भित्र्याउन गाह्रो हुने उनले बताए । उनले हवाई टिकटमा लगाईएको मुल्य अभिबृद्धी करलाई पुनरावलोकन गर्न जरुरी रहेको उल्लेख गरे ।

समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागी नेपालले पहुँच बृद्धी गर्नु जरुरी रहेको बताए । जसका लागि नेपालबाट यूरोप जान आउनका लागी सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सुचीबाट हटाउन प्रभावकारी  पहल आवश्यक रहेको उनकाे भनाइ छ । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्य अनुरूप अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागी कामको प्राथमिकता हेरेर अगाडी बढ्ने जानकारी दिए । २०८३ भदौ सम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उनले बताए ।

पर्यटन ऐन तयारी अवस्थामा रहेकाले  चाडै आउने समेत जानकारी गराए । नेपाल एयरलाइन्सलाई सवल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिदै अगाडि उनकाे भनाइ छ ।