काठमाडाैँ ।गृहमन्त्री रमेश लेखकले देशमा राजनीतिक स्थिरता दिँदै अर्थतन्त्रलाई चलायमान गर्नका लागि नेपाली काँग्रेस– नेकपा एमाले गठबन्धनको सरकार बनेको बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा वृहत साङ्गीतिक काव्य गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विगत डेढ वर्षको अवधिमा सत्ता समिकरण फेरिरहँदा पुँजीगत खर्च घटेको तथा आर्थिक गतिविधिमा शिथिलता आएको बताएका हुन् ।
उनले विगतको सरकारले सुशासन दिन नसकेको र विधिको शासन पनि चलाउन नसकेको भन्दै निराशातिर गइरहेको मुलुकलाई आशामा बदल्नका लागि दुई ठूला पार्टीको गठबन्धनमा सरकार बनेको बताए ।
उनले यो सरकार विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडी बढाउन तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि गठन भएको स्पष्ट पारे । गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ पार्नेगरी संविधान संशोधन गर्ने कुरापनि सरकारको एजेण्डा रहेको बताए ।
उनले देशमा प्रशस्त सम्भावनाहरू छन् भन्ने सन्देश दिनेगरी सरकारले काम गर्ने बताए । उनले आगामी भाद्र ६ गते संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रिय सभाबाट पारित हुने जानकारी दिँदै शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गर्न सरकार अग्रसर रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्