आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइदैँ (फाेटाेफिचर)


काठमाडौँ । आज कृष्ण जन्माष्टमी पर्व देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज भगवान विष्णुको अवतार श्रीकृष्णको पूजाआजा गरी मनाउने गरिन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । आज पाटनको कृष्ण मन्दिर, भक्तपुरको कृष्ण मन्दिर, बुढानिलकण्ठस्थित इस्कोन, लगायत देशभरका भगवान श्रीविष्णुका मन्दिरमा पूजाआराधना गर्नेहरुको भीड लागेकाे छ ।

हिन्दु धर्मावलम्वी तथा कृष्णका भक्तजनले मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट भगवान श्रीकृष्णकाे जन्म आजैका दिन भएकाले विशेष दिनका रूपमा मनाउने गरिन्छ ।

पाटनलगाएत देशभर कृष्णको प्रतिमामा पूराअर्चना गर्दै मनाइने प्रचलन रहेको छ । कृष्णलाइ राधा कृष्णको प्रेमको प्रतिकका रूपमा, चकचके वालकको रूपमा पनि स्मरण गर्ने गरिन्छ ।

तस्बिरः पुष्पा पाल