काठमाडौँ । भोलि (मंगलबार) बाट सुरू हुने नाडा अटो शो २०२४ को तयारी धमाधम भइरहेको छ । भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौँको भुकुटीमण्डपमा चल्ने १६औं संस्करणको नाडा अटो शो का लागि सम्पूर्ण तयारी तीव्र गतिमा हुँदैछ ।
मेलामा सहभागिता जनाउने ठूला कम्पनीले एउटा स्टल निमार्णकाे लागि ४० लाखसम्म खर्च गरेकाे आयाेजकले जनााएकाे छ । मेलामा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शनमा राखिने भएको छ ।
यसका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरूको ३३ कम्पनीहरू रहने छन् । मेलामा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।
टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले छ दिनको अवधिमा करिब ७५ हजार मानिसले अवलोकन गर्ने नाडाले अपेक्षा गरेको छ । अतिरिक्त आकर्षणको रूपमा एक भाग्यशाली सहभागीले हिरो जुम स्कुटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिद्वारा प्रायोजित गरिएको छ।
मेलामा ७ ओटा बैंक तथा वित्तीय संस्था समेत सहभागी हुदैँ छन् । जसमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंक सहभागी हुने नाडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्