बजाजकाे हालसम्मकै ‘पावरफुल’ पल्सर’ एनएस ४०० जेड सार्वजनिक, यस्ता छन् विशेषता


काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि.ले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ ।

नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ । लामो समयदेखि प्रतिक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ ।

विशेषताहरूको कुरा गर्नुपर्दा बजाज पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू समावेश रहेका छन् । साथै स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस पनि यसमा उपलब्ध छ जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ ।

यो बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल–कलर एलसिडी स्क्रिन पनि समावेश रहेको छ जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्ने कम्पनीले जनाएकाे छ ।

मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फुएल ट्यांक, आरामदायी स्प्लिट–सीट र स्टाइलिश १७–इन्च एलोय ह्वील दिइएको छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त रहेकाे कम्पनीकाे भनाइ छ ।

भदौ ११ देखि भदौ १६ सम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकहरूले रु. ५ लाख ५९ हजार ९०० मा पल्सर एनएस ४०० जेड खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।