नाडा अटो शो २०२४ः बैंकहरूका प्रतिस्पर्धी अफरहरू, कुन बैंकको कति ब्याजदर ?


काठमाडौँ । हिजो (मंगलबार) देखि काठमाडौँको भृकुटीमण्डमा ‘नाडा अटो शो २०२४’ सुरू भएको छ । आगामी भदौ १६ गतेसम्म चल्ने उक्त मेलामा विभिन्न सात वटा बैंकले पनि सहभागी जनाएका छन् । बैंकहरूले स्टल राखेर विद्युतीय र पेट्राेलियम सवारी साधनहरूमा स्किमहरू ल्याएका छन् ।

बैंक तथा वित्तीय संस्थाको लगानीको हिसाबले अटोमोबाइल क्षेत्र सबैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको बैंकहरू नै बताउँछन् । तर, आर्थिक गतिविधि बढाउन योगदान दिए पनि उत्पादन, पूँजी निर्माण र आर्थिक वृद्धिमा सकारात्मक योगदान नदिएको भन्दै राष्ट्र बैंक अटोमोबाइलमा जाने कर्जामा केही कडाइ गर्दा समस्या पनि हुदैँ आएकाे छ ।

मेलामा लक्ष्मी सनराइज बैंकले विद्युतीय गाडी किन्ने ग्राहकका लागि ८.९९ प्रतिशत ब्याजदरमा अटो लोन दिने योजना ल्याएको छ । त्यस्तै कृषि विकास बैंकले समेत नाडा अटो शोमा विभिन्न योजना ल्याएको छ । बैंकले अटो विशेष न्यूनतम ७.९९ प्रतिशत ब्याजदरमा नै कर्जा उपलब्ध गराउने जनाएको छ । विद्युतीय गाडीका लागि ७.९९ प्रतिशत ब्याजदर अफर गरेको बैंकले आइसी सवारीका लागि भने ८.९९ प्रतिशत ब्याजदर अफर गरेको हो ।

माछापुच्छ्रे बैंकबाट ६ वर्षसम्मका लागि विद्युतीय गाडीमा अटो लोन लिँदा ७० प्रतिशत फाइनान्सिङ गर्ने जनाएको छ । आइसी गाडीमा ८ वर्षका लागि कर्जा लिँदा ५० प्रतिशत फाइनान्सिङ गर्ने जनाएको छ ।

ग्लोबल आईएमई बैंकले भने विद्युतीय गाडीमा ७.९९प्रतिशत र अन्य गाडीमा ८.४९ प्रतिशत स्थिर ब्याजदरको कर्जा योजना ल्याएको थियो ।

नबिल बैंकले ५ वर्ष र ७ वर्षका लागि स्थिर ब्याजदरको कर्जा अफर ल्याएको छ । जसमा ५ वर्षका लागि सबै गाडीमा ८.२५ प्रतिशत ब्याजदर र ७ वर्षको लागि भने ८.४९ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ । यता महालक्ष्मी विकास बैंकले सरल प्रकृयामा कर्जा दिने जनाएको छ । बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्ने जनाएको छ ।

त्यस्तै हिमालयन बैंकले नाडा अटो शो मा परिवर्तित ब्याजदरमा ९.५१ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएकाे छ। बैंकले विद्युतीय सवारीका लागि ८.८३ प्रतिशतको आधारदरमा ०.५३ प्रतिशत प्रिमियम जोडेर ९.३६ प्रतिशतमा र इन्धन सवारीका लागि ०.६५ प्रतिशत प्रिमियम जोडेर ९.५१ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ ।