नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएकोप्रति आशंका छः सांसद झा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले नेपाल एयरलाइन्सका सबै जाहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

झाले भने ‘नेपाल एयरलाइन्सको सबै जहाजहरु ग्राउण्डेड छ भन्ने कुराहरु आइरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय रुटहरुमा सञ्चालित विभिन्न क्षेत्रहरुसँग, नेपाली जनता वा पर्यटकलाई बोक्नका लागि सञ्चालित रुटहरुमा कतैपनि हाम्रो ध्वजाबाहक उडिराखेको छैन । चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरुसँग नाफा खानाका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको छ ।’

सि चेकको लागि एक महिनाको लागि जहाज विदेश पठाएको भएपनि इटालीमा ९० दिनदेखि राखिएको जानकारी गराउँदै सांसद झाले इटालीमा दैनिक ५ करोड रुपैयाँ पार्किङ शुल्क तिरेर घाटा व्यहोरिरहेको भन्दै कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

उनले हवाइ क्षेत्रको अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा सो क्षेत्रमा नियुक्ति दिलाउँदा पनि हवाइ क्षेत्रको अवस्था यस्तो बनेको बताए ।