एमजी साइबरस्टर: ‘अटो शो’ बाट भयो सोल्ड आउट, मेलामा देख्न नपाइने


काठमाडौँ । गत मंगलबारदेखि सुरू भएको नाडा अटो शो २०२४ मा एमजी मोटर्सले नेपालमा आफ्नो नयाँ विद्युतीय एसयुभी साइबरस्टर सार्वजनिक गरेको थियो ।

जसले अवलोकनकर्ताको ध्यान खिचेको थियो तर एमजी साइबरस्टर मेलाबाट नै सोल्ड आउट भएको छ । दुई युनिट मात्र उपलब्ध भएको उक्त स्पोर्ट्स कार सोल्ड आउट भएसँगै अटो शोबाट समेत हटाइएको छ । एमजी साइबरस्टरको आकर्षक डिजाइन र उच्च प्रविधिको संयोजनले गर्दा मेलाबाट सोल्ड आउट भएको हाे । नाडा अटो शोमा यो गाडीलाई अवलोकन गर्न नसकिने भए पनि, गाडीप्रेमीहरूले यसको बुकिङ गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

साइबरस्टरमा २५० किलोवाटको मोटर रहेको छ। ७७ किलोवाटको ब्याट्री राखिएको यो गाडीले पाँच सय किलोमिटरको ड्राइभिङ रेन्ज दिने एमजीको नेपालको लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ।

यो गाडीको नेपाली बजार मूल्य एक करोड ६८ लाख रूपैयाँ तोकिएको छ। इन्फोटेन्मेन्ट सिस्टमदेखि एड्भान्सड ड्राइभिङ असिस्ट सिस्टम (एडिएएस) सम्मका आधुनिक सुविधा यसमा उपलब्ध गराइको कम्पनीले जनाएको छ। नेपाली बजारमा यो गाडी एक महिनाभित्र डेलिभरी गराइदिने उल्लेख गरिएको छ। एमजीका अन्य केही गाडीमा छुट दिए पनि यो गाडीमा छुट सुविधा नराखिएको कम्पनीले जनाएको छ। अत्याधुनिक सुविधाका कारण यो गाडीले ग्राहकहरूको ध्यान खिचेको थियो ।