काठमाडाैँ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् ।
बिहीवार काठमाडौंमा युवा निर्माण व्यवसायी समुदायले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलता हटाउनको लागि निर्माण उद्योग चलायमान हुन जरुरी रहेको बताए ।
व्यवसायीहरुले निर्माण उद्योग चलायमान हुन सरकारले निर्माण उद्योगलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । सरकारले निर्माण व्यवसायीहरुको भुक्तानि समयमा गर्न नसक्दा पनि अर्थतन्त्र चालयमान हुन नसकेको उनीहरुको भनाई छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले निर्माण क्षेत्र सरकारको प्राथमिकतामा नगरेको महशुस भएको बताए । उनले मुलुकमा पूर्वाधार निर्माणको लागि निर्माण क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको उल्लेख गरे ।
हरेक वर्षको बजेटमा आवश्यकताको पहिचान बिना नयाँ आयोजनाहरु थप हुने तर पछि बजेट अभाव हुँदा आयोजनाहरु रुग्ण बन्ने अवस्था आउने गरेको उनले बताए ।
उनले यस्तो समस्या आउन नदिनको लागि सरकारले आवश्यकता र औचित्यको आधारमा आयोजनाहरु छनोट गर्न आवश्यक रहेको उल्लेख गरे ।
तीन तहका सरकार हुँदा पनि कसले पूर्वाधार बनाउने र जिम्मेवारी कसले लिने भन्ने अन्योलता रहेको भन्दै पूर्वाधार निर्माण गर्दा तीन तहका सरकारले आवश्यकता र पुँजीको आधारमा छनोट गर्नु उचित हुने उनकाे भनाइ छ । उनले मुलुकमा राजनीतिक र कर्मचारी अस्थिरताको कारणले पनि निर्माण क्षेत्र समस्यामा रहेको धारणा राखे ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योग शिथिल,आर्थिक उपार्जनमा आएको संकट र सरकारले भुक्तानी गर्न नसकेको कारणले गर्दा निर्माण उद्योग समस्यामा परेको बताए ।
उनले निर्माण उद्योगमा परेको समस्याले सप्लाई चेन लगायत सहयोगी हातहरु पनि समस्यामा परेको उल्लेख गरे । मुलुकको अर्थतन्त्र चलायमान बनाउन निर्माण उद्योगलाई चलायमान बनाउन आवश्यक रहेको उनले बताए ।
युवा निर्माण व्यवसायीहरुले निर्माण उद्योग चलायमान बनाउने महत्वपूर्ण भुमिका निवाह गर्ने अपेक्षा रहेको उनकाे भनाइ छ ।
युवा निर्माण व्यवसायी समुदायको ६ औं अधिवेशनबाट वसन्तबहादुर चन्दको नेतृत्वमा १५ जनाको कार्यसमिति चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्