नाडा अटो शोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ


काठमाडौँ । नाडा अटो शो २०२४ मा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकलको बुकिङ भएको दाबी गरिएको छ।नेपालमा ट्राइम्फ मोटरसाइकलको आयातकर्ता कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीले सो जानकारी दिएको हो ।

ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकहरूलाई ट्राइम्फका मोटरसाइकलहरूमा पहुँच सुनिश्चित गरेको छ। ट्राइम्फ विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्स लागि परिचित ब्राण्ड हो।

नाडा अटो शो मा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ। मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले देखाएको कम्पनीको भनाइ छ।

गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको बताए।

मेला स्थलबाटै सार्बजनिक गरिएका स्पीड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।