चालु आर्थिक वर्षबाटै अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुन्छः गभर्नर अधिकारी


काठमाडाैँ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षबाटै नेपालको अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुने दाबी गरेका छन् ।

आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोबललाई उच्च राख्नलाई प्रसस्त मात्रामा आधारशिला खडा भएको बताए ।

उनले केही सूचकहरूले पनि अर्थतन्त्र चलायमान बनाउने आधारशिला खडा भएको प्रमाणित गरेको बताए । उनले भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरू, शेयर बजारहरू र अन्य स्थितिले पनि केही न केही चलायमान भइरहेको प्रमाणित भएको बताए ।

उनले राजश्व संकलनमा पनि विगतका दुई वर्षको भन्दा राम्रो राजश्व उठेको बताए । उनले कर्जा प्रवाहको स्थिति साउनमा लगभग ३ अर्ब र भदौको आजसम्म थप १२ अर्ब कर्जा प्रवाह भइसकेको बताए ।

गभर्नर अधिकारीले सरकारले पनि कानूनी अफ्ठ्यारा हटाउन नीतिगत सुधारमा लागेकाले अर्थतन्त्र चलायमान बन्ने विश्वास व्यक्त गरे ।