‘बीआरआई परियोजनामा सरकारको निर्णय कार्यान्वयन गर्छु’


काठमाडाैँ । चीनका लागि प्रस्तावित राजदुत प्राध्यापक डाक्टर कृष्णप्रसाद ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा आफूले नेपाल सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै अघि बढ्ने बताएका छन् ।

सो परियोजनाबारे सरकारले गरेको निर्णय कार्यान्वयनका लागि प्रयत्नशील रहने राजदुतको रूपमा आफ्नो भुमिका हुने उनकाे कार्ययोजना थियो । आइतवार संसदीय सुनुवाईको क्रममा प्रस्तावित राजदुत ओलीले सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेपालले उत्तर–दक्षिण कनेक्टिभिटी परिचालन गर्नका लागि ट्रान्स हिमालयन कनेक्टिभिटीमा टेकेर पनि अघि बढ्नसक्ने धारणा राखे ।

उनले चिनियाँ पर्यटकहरूलाई नेपाल भित्र्याउने काममा पनि आफू दत्तचित्त भएर लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । चीनमा २१ प्रतिशत बुद्धिष्टहरू रहेको उल्लेख गर्दै प्रस्तावित राजदुत ओलीले उनीहरूलाई नेपालमा पर्यटकको रूपमा भित्र्याउने काममा पनि आफूले सहजीकरण गर्ने बताए । तातोपानी भन्सार निरन्तर सञ्चालनमा ल्याउनका लागि आफूले राजदुत हुनेबित्तिकै पहल गर्ने पनि प्रश्तावित राजदुत ओलीको भनाइ थियो ।

राजदुत ओलीले लुम्बिनी र पोखरामा चिनियाँ पर्यटकहरूले आफ्नो गन्तव्य बनाउने भएकाले त्यसमा पनि आफूले जोड दिने बताए ।