युवाका लागि इन्टरनेट गभर्नेन्स र आईक्यान नीति केन्द्रित ‘एपिगा नेपाल २०२४’ कार्यक्रम सम्पन्न


काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) द्वारा आयोजित एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२४ भव्यताका साथ सम्पन्न भएको छ ।

भदौ १४ र १५ गते काठमाडौंको होटल ले हिमालय भएको यो क्षमता विकास कार्यशालामा इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु-साझेदारी मोडेलबारे स्नातक, स्नातकोत्तर विद्यार्थीहरू तथा युवा पेशेवरहरूलाई बृहत् जानकारी प्रदान गरिएको थियो ।

आईक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सी (किसा) द्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणको रूपमा नेपालमा पहिलोपटक यो कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा इन्टरनेट गभर्नेस सम्बन्धी सेमिनार, राउन्ड टेबल डिस्कसन, सिमुलेसन गेमहरू, मक आईक्यान कन्फ्रेन्स जस्ता विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा आयोजक क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले क्यानले युवा सचेतनामा खेलेको भूमिकाबारे चर्चा गर्दै एपिगा जस्ता कार्यक्रमबाट भविष्यका डिजिटल नीतिका अभियन्ताहरूलाई महत्तवपूर्ण प्रशिक्षण प्राप्त हुने बताए ।

प्रमुख अतिथि पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एव‌म् प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले नीतिनिर्माण प्रक्रियामा युवाहरूको सहभागिता र सक्रियतामा जोड दिँदै आईजीएफ क्योटोमा आफू सहभागी हुँदा प्राप्त अनुभव र नेपालमा यसलाई कार्यान्वयन गर्ने उपायहरूबारे प्रकाश पारिन् ।

कार्यक्रमका कीनोट स्पिकर ‍ई-गभर्नेन्स कमिसनका सीईओ एवं सदस्य-सचिव ई. दीपेश विष्टले डिजिटलाइजेशन प्रक्रियासँग सरकारको प्रक्रियाको समन्वयको आवश्यकता र एकल डाटा आदान-प्रदान प्लेटफर्मको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए ।

त्यसैगरी, अनलाइन माध्यमबाट सहभागी युनेस्कोका प्रोग्राम म्यानेजर भानु न्यौपानेले इन्टरनेटलाई थप खुला र पहुँचयोग्य बनाउन सबै सरोकारवालाको भूमिकालाई पनि जोड दिएका थिए ।

पहिलो दिनको दोस्रो सत्रमा इन्टरनेट गभर्नेन्सको परिचयबारे श्रीदीप रायमाझीले प्रस्तुति दिएका थिए, जसमा इन्टरनेट गभर्नेन्स भनेको के हो र प्रमुख सरोकारवालाहरू को को हुन् भन्नेबारे विस्तृत जानकारी दिइएको थियो । त्यसपछि, दीक्षा राउतले इन्टरनेट गभर्नेन्समा आफ्नो अनुभव र यात्रा सुनाउँदै युवाहरूले यस्ता फोरममा सक्रियतापूर्वक सहभागिता जनाउनुपर्नेमा जोड दिइन् ।

सोहि दिन इन्टरनेसनल कर्पोरेसन फर असाइन्ड नेम्ज एन्ड नम्बर्ज (आईक्यान) को परिचयबारे सेसन सञ्चालन गरिएको थियो, जसमा आईक्यानका प्रतिनिधि यश अग्रवालले आईक्यानको भूमिका, यसको संगठनात्मक संरचना र नीतिनिर्माण प्रक्रियाबारे विस्तृत जानकारी दिए ।

त्यस्तै, एपिगा नेपालका टिम लिडर विवेक सिलवाल र कार्यक्रम संयोजक उदिप बरालले आईक्यानसँगको आफ्नो यात्राबारे जानकारी दिँदै युवाहरूले कसरी यसमा सहभागी हुन सक्छन् भन्ने विषयबारे प्रकाश पारे ।

पहिलो दिनमा सहभागीहरूले आफ्नो अनुभव र प्रतिक्रिया दिँदै नीतिनिर्माण प्रक्रियामा युवाहरूको सक्रिय सहभागिताको आवश्यकता महसुस भएको बताएका थिए । एपिगा नेपालका टिम लिडर विवेक सिलवालले ‘मोडेल आईक्यान कन्फ्रेन्स’ का लागि तयारी सत्र सञ्चालन गर्दै सहभागीहरूलाई गाइडबुकमा आधारित जानकारी प्रदान गरे ।

कार्यक्रमको समापन समारोहमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले नेपालमा इन्टरनेट गभर्नेन्सको भविष्य निर्माण गर्नका लागि बलियो आधार राखेको बताउँदै उनले नीति निर्माता, प्रयोगकर्ता, नियामक, टेलिकम अपरेटर, आईएसपीहरू र अन्य मुख्य सरोकारवालाहरूबाट महत्त्वपूर्ण अन्तर्दृष्टि प्राप्त गरेको बताए ।

साथै, यी छलफललाई सबैका लागि समावेशी, सुरक्षित, र खुला इन्टरनेट पहुँचलाई प्रोत्साहन गर्ने कार्यनीतिहरूमा सहयोग पुग्ने विश्वास राखे । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथिहरू, वक्ताहरू, प्यानलिस्टहरू, प्रायोजक तथा सहभागीहरूप्रति आभार प्रकट गरे ।