‘कृषिका लागि आवश्यक कलकारखाना र सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्छु’


काठमाडाैँ ।दक्षिण कोरियाका लागि प्रश्तावित राजदुत डा.शिवमाया तुम्वाहाङ्फेले कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्ने बताएकी छन् ।

बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले दक्षिण कोरियाबाट कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्ने बताएकी छन् । त्यस्तै, चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रश्ताव गर्ने बताइन् ।

उनले फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा पनि सहयोग प्रस्ताव गर्ने उल्लेख गरिन् ।उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्ने भन्दै लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरूको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्ने योजना रहेको बताइन् ।

त्यसैगरी नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्राउन काठमाडौँ–कोरिया सिधा उडान भर्न पहल गर्ने र दक्षिण कोरियामा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्ने बताइन् ।