अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएको समस्या समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

अरुण तेस्रो जलविद्युत् आयोजना, लगानी बोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले समस्या देखाउनेमात्र नभई समाधानमा केन्द्रित हुन निर्देशन दिएका हुन् ।

“बिजुली उत्पादन गर्ने समय एक दिनमात्र ढिला हुँदा पनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्छ, आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न र वितरण हुनेगरी सानातिना समस्यालाई समाधान गर्नुपर्छ,” उनले भने ।

ऊर्र्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पूरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी बोर्डको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

“आयोजनालाई अगाडि बढाउनका लागि कहाँ कहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्तिहरू को को हुन्, त्यसको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,” खड्काले भने ।

स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि सरकारले समेत सहयोग गर्नै उनको भनाइ थियो । ऊर्र्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालयले सहयोग गर्ने बताए । उनले ऐलानी जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरिएको भन्दै त्यस्ता जग्गा भए लगानी बोर्डमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने उल्लेख गरे ।