काठमाडौं । देशकाे एकमात्र पुँजी बजारले सधैँ राजनीतिक स्थायित्व र नयाँ नीतिगत आशालाई स्वागत गर्थ्यो। तर, २०८२ चैत १० गते बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछिको १०० दिनले यो स्थापित भाष्यलाई पूरै उल्ट्याइदिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी विजयको लहर र नयाँ सरकारप्रतिको उच्च जनअपेक्षाका बीच २०८२ चैत १० गते २,९६०.४० अंकको उचाइतर्फ उन्मुख भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक नयाँ सरकार गठनको पहिलो दिनदेखि नै ओरालो लाग्न थाल्यो।
सरकार गठन भएको १०० दिनमा अर्थात् २०८३ असार १९ गते नेप्से परिसूचक करिब ३०७ अंकले घटेर २,६५३.४० अंकमा झरेको छ।
सूचक मात्र होइन, लगानीकर्ताहरूको कुल सम्पत्ति मापन गर्ने बजार पुँजीकरणमा समेत ऐतिहासिक गिरावट आएको छ। २०८२ चैत १२ गते ५० खर्ब ९ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण असार १९ गतेसम्म आइपुग्दा ४५ खर्ब ५९ अर्ब रुपैयाँ मा झरेको छ।
यो गिरावटको वास्तविकता बुझ्नका लागि नेप्सेको फ्लोटिङ इन्डेक्स हेर्नुपर्ने हुन्छ। सर्वसाधारण लगानीकर्ताले बजारमा वास्तविक रूपमा खरिद-बिक्री गर्न सक्ने सेयरहरूलाई मात्र आधार मानेर गणना गरिने फ्लोटिङ इन्डेक्सले बजारको वास्तविक तरलता र गहिराइलाई प्रतिबिम्बित गर्दछ।
यो सूचकले प्रमोटर वा सरकारी स्वामित्वमा रहेका र सजिलै बिक्री नहुने सेयरहरूलाई हटाएर सर्वसाधारणसँग रहेको र दैनिक खरिदबिक्री हुने सेयरको मात्र प्रतिनिधित्व गर्छ।
१०० दिनको अवधिमा फ्लोट इन्डेक्स पनि समग्र नेप्से सूचककै अनुपातमा करिब १० प्रतिशत ले ओरालो लागेको छ। फ्लोट इन्डेक्सको गिरावट नेप्से सूचकको तुलनामा केही कम देखिनुको कारण ठूला ‘प्रमोटर’ सेयरहरूको होल्डिङ स्थिर रहनु तर सर्वसाधारणको तहमा ‘प्यानिक सेलिङ’ बढी हुनु हो।
चैत महिनाको मध्यमा यसरी नियमित कारोबार हुने कम्पनीहरूको बजार पुँजीकरण १६ खर्ब ७६ अर्ब रुपैयाँको हाराहारीमा रहेकोमा हाल यो झन्डै १ खर्ब ५० अर्ब रुपैयाँले संकुचित भई १५ खर्ब ३७ अर्ब रुपैयाँरमा झरेको छ।
फ्लोटिङ इन्डेक्समा आएको यो ह्रासले बजारमा नयाँ पुँजीको आगमन ठप्प भएको र साना लगानीकर्ताहरू आफ्ना सेयर सस्तो मूल्यमै भए पनि बेचेर बाहिरिन खोजेको देखाउँछ।
नेपाली सेयर बजारको एउटा तितो यथार्थ के हो भने यहाँको झन्डै ८० प्रतिशत बजार हिस्सा केही दर्जन ठूला प्रमोटर, संस्थागत लगानीकर्ता र ब्रोकरहरूको पकडमा छ। जब सरकारले दिपक भट्ट, सुलभ अग्रवालसहित ठूला प्रमोटर सेयरधनीहरूलाई पक्राउ गर्न थालेपछि अरु ठूला ‘मार्केट मेकर’ हरू पनि त्रसित भएकैले यो अवस्था आएको एक बजार विश्लेषक बताउँछन् ।
संवेदनशील ठूला कम्पनीहरूको मापक ‘सेन्सेटिभ फ्लोट इन्डेक्स’ पनि १५५.७७ अंकमा झरेको छ। यस्ता संवेदनशील ठूला कम्पनीहरूको बजार पुँजीकरण बालेन सरकार बन्दा ९ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा अहिले ८ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ।
बजार घट्दा सबैभन्दा ठूलो मार साना तथा खुद्रा लगानीकर्तालाई परेको छ। चुनावअघिको ‘बुलिश ट्रेन्ड’ हेरेर २,९०० माथिको विन्दुमा बजार प्रवेश गरेका लाखौँ नयाँ लगानीकर्ताको पोर्टफोलियो यतिबेला ४० देखि ६० प्रतिशतसम्म घटेको छ।
बालेन शाह सरकारको १०० दिन: लगानीकर्ताले पत्याएनन्



प्रतिक्रिया दिनुहोस्