काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा आर्थिक सुधारको आधार तयार हुँदै गरेको बताएका छन् ।
ढकालले सो कुरा सोमबार महासंघको सचिवालयमा अन्तर्राष्ट्रिय वित्त निगमका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीसँगको भेटघाटका क्रममा बताएका हुन् ।
भेटमा ढकालले सरकारले नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावहरूलाई लिएको र नयाँ पुस्ताका सुधारहरू अघि बढाएको जानकारी गराए । ढकालले सरकार, निजि छेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूले हाते मालो गरेर आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न सकिने बताए ।
ढकालले दुई संस्थाहरूले स्थानीय र अन्तर्राष्ट्रिय बजारमा व्यवसायहरूको प्रतिस्पर्धात्मकता सुधार्न मिलेर काम गर्न सक्ने पनि उल्लेख गरे । उनले महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा प्रकाशित गरेको ‘नेपालमा निजी क्षेत्रको अवस्था’ शीर्षकको प्रतिवेदनको सहकार्यबारे पनि जानकारी गराए ।
ढकालले उक्त प्रतिवेदन व्यवसायिक समुदाय र नीति निर्माताहरूका लागि महत्त्वपूर्ण साबित भएको जानकारी दिए । उनले अन्तर्राष्ट्रिय वित्त निगमको विशेषज्ञता र मकहासंघको स्थानीय व्यवसाय समुदायसँगको सशक्त सम्बन्धले नेपालको आर्थिक परिदृश्यमा परिवर्तन ल्याउन महत्त्वपूर्ण प्रगति गर्न सकिने विश्वास व्यक्त गरे ।
भेटको क्रममा फाखौरीले सार्वजनिक–निजी साझेदारीहरूमा थप जोड दिन आवश्यक रहेको बताए। फाखौरीले यसै समयमा नेपालले केही आर्थिक चुनौतीहरूको सामना गरिरहेको भए पनि देशका लागि धेरै अवसरहरू पनि रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्