सहकारी ठगी छानविनका लागि सरकारले न्यायिक समिति गठन गर्नुपर्छः अमेरशकुमार सिंह


काठमाडाैँ । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी छानविनका लागि न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेका छन् । सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा सो समिति गठन गरेर ६\७ महिनाको समय दिएर सहकारी ठगीको छानविन गर्न उपयुक्त हुने उनको प्रस्ताव थियो ।

आइतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सिंहले सहकारी ठगहरूको सम्पत्ति जफत गरेर भएपनि सरकारले पीडितहरूको रकम फिर्ता गर्नुपर्ने समेत बताए ।उनले सहकारी ठगीमा रवि लामिछाने देखिएपनि त्यसमा बढी जिम्मेवार काँग्रेस–एमाले भएको जिकिर समेत गरे ।

“सहकारीबाट नेपाली जनताको करिव एक खर्ब भन्दा बढी पैसा अपचलन भएको छ । त्यो अपचलन कुनै रास्वपाले मात्रै गरेको छैन । यसको जन्म कति वर्ष पहिले भयो ? सहकारी हाम्रो कहिलेदेखि देखिन्छ ?  वास्तवमा यसको न्यायिक छानविन समिति गठन हुुनुपर्दथ्यो । संसदीय छानविन यसका लागि उपयुक्त होइन । किनकी ३० वर्षदेखि यो देशमा शासन नेपाली काँग्रेस र एमालेले गरेको छ । र सहकारीमा पनि काँग्रेस र एमाले नै हो । २०७० सालमा यही काँग्रेसको सहकारीको प्रतिनिधिको रुपमा सांसद समेत बनाइएको थियो । एमालेले इच्छाराज तामाङलाई बनाएको थियो । किनकी सहकारीको पैसा प्रयोग गरेको नै काँग्रेस र एमालेले हो,” उनले भने ।

सांसद सिंहले काँग्रेस–एमालेले बढी सहकारीको पैसा प्रयोग गरेको भन्दै यसको अपचलनमा पनि उनीहरूनै बढी जिम्मेवार देखिएको तर्क समेत गरे ।